बाँझो जमिनको सदुपयोगको विकल्प अकबरे खुर्सानी
३० जेठ, स्याङ्जा । बाँझो जमिन बढ्दै जानु र जंगली जनावरको त्रासका बीच किसानका लागि स्याङ्जाको भिरकोट नगरपालिकाले किसानलाई नयाँ विकल्प दिएको छ । परम्परागत कृषिबाट मोहभंग भएका किसानलाई सामूहिक अकबरे खुर्सानीको विकल्प दिएर नगरपालिकाले आम्दानीसँग जोड्ने कोसिस गरेको छ । नगरपालिकाले सञ्चालन गरेको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत नौ वटै वडामा सामूहिक नर्सरी स्थापना गरेर अकबरे…
३० जेठ, स्याङ्जा । बाँझो जमिन बढ्दै जानु र जंगली जनावरको त्रासका बीच किसानका लागि स्याङ्जाको भिरकोट नगरपालिकाले किसानलाई नयाँ विकल्प दिएको छ । परम्परागत कृषिबाट मोहभंग भएका किसानलाई सामूहिक अकबरे खुर्सानीको विकल्प दिएर नगरपालिकाले आम्दानीसँग जोड्ने कोसिस गरेको छ ।
नगरपालिकाले सञ्चालन गरेको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत नौ वटै वडामा सामूहिक नर्सरी स्थापना गरेर अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गरिएको हो ।
नगरपालिकाका अनुसार २६ वटा नर्सरीबाट करिब एक लाख चार सय बिरुवा उत्पादन गरी २७० जना किसानलाई वितरण गरिएको छ । ती बिरुवाबाट झन्डै १२५ रोपनी क्षेत्रफलमा खेती विस्तार भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यो कार्यक्रमलाई केवल बिरुवा वितरणमा सीमित नराख्ने दाबी गर्दै आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताए ।
‘अभिमुखीकरण, समूह गठन, बीउ व्यवस्थापन, रोग तथा किराको नियन्त्रण, जैविक विषादी निर्माण र झोलमल बनाउने तालिमसमेत सञ्चालन गरेर अकबरे खुर्सानी खेती सुरु गराएका छौं,’ उनले भने ।
नगरपालिकाले सहजै बजार पाइने, बाँझो जमिनको पनि उपयोग हुने र जंगली जनावरबाट पनि नोक्सानी कम हुने बाली भएकाले अकबरे खुर्सानीमा जोड दिएको उनले बताए ।
‘यसले उत्पादन त हुन्छ नै । त्यसले बजार पनि सहजै पाउँछ,’ उनले भने, ‘किसानले यसबाट कमाउन थालेपछि सहजै आकर्षित हुन्छन् भन्ने हाम्रो बुझाइ छ ।’
एक रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी लगाउने किसानलाई हेफर प्रोजेक्ट नेपाल परियोजनाअन्तर्गत मल्चिङ प्लास्टिकसमेत सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको यो प्रयासबाट किसानहरू पनि हौसिएका छन् । यसले बाँझो जमिनको उपयोगसँगै रोजगारी र आयआर्जन बढाउने लक्ष्यलाई थप बल पुग्ने विश्वास किसानमा जागृत भएको भिरकोट–७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले बताए ।
📌 Kaynak
Bu özet Nepal kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →