थ्रीडी मेमोग्राफी भ्रष्टाचार प्रकरण : डा. संगीता कौशललाई सफाइ, ६ जना दोषी ठहर
सोही मुद्दामा प्रतिवादी बनाइएकी तत्कालीन स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. संगीता कौशल मिश्रासहित ८ जनालाई भने अदालतले सफाइ दिएको छ ।
सोही मुद्दामा प्रतिवादी बनाइएकी तत्कालीन स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. संगीता कौशल मिश्रासहित ८ जनालाई भने अदालतले सफाइ दिएको छ ।
२ असार, काठमाडौं । थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले ६ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।
अदालतले मिलेमतो, अनियमितता र झुटा कागजात तयार पारेर सार्वजनिक खरिद प्रक्रियामा गम्भीर बदनियत देखिएको निष्कर्ष निकालेको छ ।
सोमबार विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले विभागका तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक डा. श्रवणकुमार थापासहित ६ जनालाई जनही चार–चार महिना कैद सजाय तोकेको हो ।
दोषी ठहर भएकामा तत्कालीन खरिद शाखा प्रमुख सुरेन्द्रप्रसाद चौरासिया, बायोमेडिकल इन्जिनियरद्वय आशिष चौहान र पद्मा मिश्र, सञ्जयकुमार साह तथा म्याक्सिम ट्रेडर्स इन्कर्पोरेसन प्रालिका सञ्चालक सुन्दर भुसाल रहेका छन् ।
अदालतले यी प्रतिवादीहरूबीच विभागीय कर्मचारी र ठेकेदार कम्पनीबीच योजनाबद्ध मिलेमतो भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजाय सुनाएको हो ।
कर्मचारीहरूलाई दफा ८(१) अनुसार चार महिना कैद र क्षतिपूर्ति तथा जरिवानाको व्यवस्था गरिएको छ ।
ढिलाइ भएको सामानको पूर्वनिर्धारित क्षतिपूर्ति रकम ३८ लाख ३४ हजार ७ सय २३ रुपैयाँलाई दामासाहीले बाँड्दा प्रतिव्यक्ति ५ लाख ४७ हजार ८ सय १७ रुपैयाँ जरिवाना तोकिएको छ ।
सोही बराबरको बिगो असुल गरी राजस्वमा दाखिला गर्न आदेशसमेत दिइएको छ ।
यस्तै, झुटा कागजात तयार पारेको आरोपमा दफा १९(२) अनुसार थप चार महिना कैद र २० हजार रुपैयाँ जरिवाना पनि सुनाइएको छ ।
मतियारको रूपमा दोषी ठहर भएका म्याक्सिम ट्रेडर्सका सञ्चालक सुन्दर भुषाललाई समेत समान किसिमको कैद र जरिवाना तोकिएको छ ।
यसैबीच अदालतले सबै दोषीहरूबाट अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार जनही २१ हजार ९ सय १२ रुपैयाँ क्षतिपूर्ति असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ ।
सफाइ पाउनेमा तत्कालीन निर्देशक डा. विवेककुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, कानुन अधिकृत सीता घिमिरे र लेखापाल तिलकराम ढकाल छन् ।
महानिर्देशक मिश्राले प्राविधिक तथा खरिद एकाइबाट प्राप्त कागजात र टिप्पणीका आधारमा मात्र स्पेसिफिकेसन स्वीकृत र भुक्तानी आदेश सदर गरेको देखिएकाले बदनियत प्रमाणित हुन नसकेको भन्दै अदालतले सफाइ दिएको छ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →