स्थानीयको पसिनाले जोडेको ‘कालो दह, सेतो दह’ पदमार्ग
पदमार्ग निर्माणमा युवाहरूले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोड्ने काम गरेका थिए भने महिलाहरूले नाम्लोमा ढुङ्गा बोकेर सिढी बनाउन सहयोग गरेका थिए ।
पदमार्ग निर्माणमा युवाहरूले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोड्ने काम गरेका थिए भने महिलाहरूले नाम्लोमा ढुङ्गा बोकेर सिढी बनाउन सहयोग गरेका थिए ।
२३ जेठ, रुवीभ्याली (धादिङ) । उत्तरी धादिङस्थित रुवीभ्याली गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य ‘कालो दह, सेतो दह’ जाने पदमार्ग निर्माण गरिएको छ ।
रुवीभ्याली गाउँपालिकाकै आकर्षक पदमार्ग तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित कालो दह र सेतो दह हुँदै नेपाल-चीन सिमाना नजिकको हर्ची पाससम्मको पदमार्ग निर्माण कार्य सकिएको स्थानीय पथपदर्शक मार्कुस तामाङले जानकारी दिए ।
रुवीभ्याली गाउँपालिका-१ को १५ लाख रुपैयाँ आर्थिक सहयोग र स्थानीयवासीको सामूहिक श्रमदानबाट पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको तामाङले बताए ।
रुवीभ्याली गाउँपालिका-१ लिङ्जो गाउँका स्थानीयहरूको २१ दिनसम्मको श्रमदान र अथक मिहिनेतपछि बाबिल खर्कदेखि ४ हजार ६५० मिटर उचाइमा रहेको हर्ची पाससम्मको गोरेटो पदमार्ग निर्माण गरिएको हो ।
गाउँलेको एकता, समर्पण र श्रमले निर्माण भएको यो पदमार्ग रुवीभ्यालीको पर्यटन विकासका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । स्थानीयवासीले असिना, हिमपात र उच्च हिमाली भेगको कठोर मौसमलाई सामना गर्दै पदमार्ग निर्माण सम्पन्न गरेका हुन्।
निर्माण कार्यका क्रममा ४ हजार मिटर उचाइमा रहेको छार चो खर्कमा बास बसेर दैनिक रूपमा कठिन भूभागमा काम गरिएको वडाध्यक्ष पम्वर तामाङले जानकारी दिए । अक्सिजनको कमी हुने उचाइमा समेत गाउँको भविष्य निर्माणको अपेक्षामा स्थानीयहरू दृढ संकल्पका साथ निर्माण कार्यमा खटिएको वडाध्यक्ष तामाङले बताए ।
वडा कार्यालयले यस वर्षको बजेटबाट पदमार्ग निर्माणमा सहयोग गरेको र आगामी वर्षको बजेटबाट पनि पर्यटक प्रतीक्षालय र पर्यटक लक्षित पूर्वाधारहरू निर्माणका काममा साथ दिने अध्यक्ष तामाङले बताए ।
सामूहिक श्रमदानबाट बनेको यो पदमार्गले रुवीभ्यालीको प्रसिद्ध कालो दह, सेतो दह र हर्ची पासमा सहज रूपमा पर्यटक पुर्याउने विश्वास गरिएको छ ।
स्थानीयवासीका अनुसार पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने, स्थानीय होटल व्यवसाय, गाइड सेवा तथा अन्य पर्यटनसँग सम्बन्धित रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।
स्थानीयका अनुसार यो पदमार्ग केवल एउटा बाटो मात्र नभई गाउँको सपना, विश्वास र एकताको प्रतीक बनेको छ । ‘हामीले बाटो बनाउँदा माटो ढुङ्गा मात्र जोडेका छैनौँ, गाउँको भविष्यको बाटो कोरेका छौँ,’ स्थानीय अगुवा पुर्ने लामा तमाङले भने, ‘यो बाटोबाट पर्यटक भित्र्याउन सकियो भने गाउँको मात्र होइन, पालिकाकै विकासमा टेवा पुग्नेछ ।’
रुवीभ्यालीको अनुपम प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन यो पदमार्ग महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ । यो पदमार्ग सहज भएको सन्देश पुर्याउन सकिएमा ५ हजार मिटरसम्मको उचाइमा पदयात्रा गर्ने पर्यटकलाई राजधानीबाट सबैभन्दा नजिकको गन्तव्य बन्ने पदप्रदर्शक मार्कुस तामाङले बताए ।
📌 Kaynak
Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →